Section 6
बैंक वा वित्तीय संस्थाको शाखा कार्यालय खोल्न पूर्व स्वीकृति लिनु पर्ने
(१) अन्तर्राष्ट्रिय श्रेणीकृत (इन्टरनेश्नल रेटेड) कुनै विदेशी बैंक वा वित्तीय संस्थाले नेपालभित्र बैंकिङ्ग तथा वित्तीय कारोबार वा गैर बैंकिङ्ग वित्तीय कारोबार सञ्चालन गर्न शाखा कार्यालय खोल्न चाहेमा त्यस्तो शाखा कार्यालय खोल्नु पूर्व राष्ट्र बैंकको स्वीकृति लिनु पर्नेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि राष्ट्र बैंकले तोकेको पूँजी तथा दस्तुर सहित राष्ट्र बैंक समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम निवेदन दिँदा त्यस्तो विदेशी बैंक वा वित्तीय संस्थाले दफा ५ को उपदफा (१) मा उल्लिखित विवरण तथा कागजातको अतिरिक्त देहाय बमोजिमका थप कागजात तथा विवरण समेत पेश गर्नु पर्नेछः–
(क) विदेशी बैंक वा वित्तीय संस्थाको नेपालस्थित शाखा वा प्रतिनिधि वा सम्पर्क कार्यालयले गर्ने व्यावसायिक काम कारबाहीको सम्बन्धमा आफ्नो सम्पूर्ण दायित्व पूरा गर्न आवश्यक हुने रकम राष्ट्र बैंकले माग गरेको बखत उपलब्ध गराउने सम्बन्धमा सञ्चालक समितिले गरेको लिखित प्रतिबद्धता,
(ख) विदेशी बैंक वा वित्तीय संस्थाको प्रस्तावित शाखा कार्यालय रहने स्थानको विवरण,
(ग) विदेशी बैंक वा वित्तीय संस्थाको प्रस्तावित शाखा कार्यालयको सम्भावित पदाधिकारीको विवरण ।
(४) उपदफा (३) बमोजिम पेश भएका कागजात वा विवरण जाँचबुझ गर्दा थप कागजात वा विवरण माग गर्नु पर्ने देखिएमा राष्ट्र बैंकले सम्बन्धित निवेदकबाट आवश्यक कागजात वा विवरण माग गर्न सक्नेछ ।
(५) उपदफा (३) बमोजिमको थप कागजात तथा उपदफा (४) बमोजिमको कागजात मागिएकोमा त्यस्तो कागजात प्राप्त भएपछि प्राप्त निवेदन उपर जाँचवुझ गर्दा पूर्व स्वीकृति दिन उपयुक्त हुने देखेमा राष्ट्र बैंकले कुनै शर्त तोकी वा नतोकी त्यसरी निवेदन पर्न आएको एकसय बीस दिनभित्र त्यस्तो विदेशी बैंक वा वित्तीय संस्थालाई नेपालमा शाखा कार्यालय खोल्न स्वीकृति दिन सक्नेछ ।
(६) उपदफा (५) बमोजिमको पूर्व स्वीकृति प्राप्त गरे पछि त्यस्तो विदेशी बैंक वा वित्तीय संस्थाले प्रचलित कम्पनी कानून बमोजिम शाखा कार्यालय दर्ता गर्नु पर्नेछ ।
(७) उपदफा (६) बमोजिम दर्ता भएको विदेशी बैंक वा वित्तीय संस्थाको शाखा कार्यालयले नेपालमा बैकिङ्ग तथा वित्तीय कारोबार गर्ने स्वीकृतिको लागि राष्ट्र बैंकले तोकेको शुल्क वा दस्तुर सहित देहायका कागजात तथा विवरण संलग्न गरी राष्ट्र बैंक समक्ष निवेदन पेश गर्नु पर्नेछः–
(क) शाखा कार्यालयको रुपमा नेपालमा बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न प्रचलित कम्पनी कानून बमोजिम दर्ता भएको दर्ता प्रमाणपत्र,
(ख) विदेशी बैंक वा वित्तीय संस्थाको सम्बन्धित मुलुकको कानून बमोजिम त्यस्तो मुलुकको सरकार वा केन्द्रीय बैंक वा नियमन गर्ने निकायले त्यस्तो विदेशी बैंक वा वित्तीय संस्थालाई नेपालमा शाखा कार्यालय खोल्न दिएको स्वीकृति वा सहमति पत्र ।
(ग) विदेशी बैंक वा वित्तीय संस्थाको शाखा कार्यालय स्थापना गर्न राष्ट्र बैंकमा निवेदन पेश गरेपछि वा राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिएपछि त्यस्तो विदेशी बैंक वा वित्तीय संस्थाले यस ऐन बमोजिम पूरा गर्नु पर्ने कुनै कुरामा फरक परेको भए सोको विवरण,
(घ) राष्ट्र बैंकले माग गरे बमोजिमको अन्य जानकारी तथा विवरण ।
(८) उपदफा (७) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा स्वीकृति दिन उपयुक्त हुने देखेमा राष्ट्र बैंकले त्यस्तो विदेशी बैंक वा वित्तीय संस्थाको शाखा कार्यालयलाई नेपालमा बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न निवेदन पेश भएको मितिले नब्बे दिनभित्र स्वीकृति दिन सक्नेछ ।
(९) उपदफा (८) बमोजिम स्वीकृति प्रदान गर्दा राष्ट्र बैंकले आवश्यक शर्त समेत तोक्न सक्नेछ ।
(१०) बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृति लिई नेपाल बाहिर शाखा कार्यालय खोल्न सक्नेछ ।
(११) उपदफा (१०) बमोजिम नेपाल बाहिर शाखा कार्यालय खोल्ने सम्बन्धमा राष्ट्र बैंकले समय समयमा आवश्यक नीति बनाउनेछ ।